सामुदायिक विद्यालयलाई ७ दिनभित्र भाडाका सटर खालि गराउन कामनपाको अल्टिमेटम

काठमाडौँ, जेठ २८ गते । सोमबार  महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू सात दिन भित्र खालि नगरे काठमाडौँ महानगरपालिकाले कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाले  सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरू खालि गर्न निर्देशन दिएको हो । सात दिन भित्र व्यावसायिक प्रयोजनका सटरहरू खालि नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।
महानगरले आइतबारबाट यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरूलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।
अनुगमनका क्रममा काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौँ महानगरका सामुदायिक विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताउनुभयो ।
‘‘काठमाडौँ महानगरपालिकाको एउटा नीति छ, यो विद्यालयहरूमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र त्यो भाडा लिने जुन एउटा चलिरहेको छ, ३७ वटा स्कुलमा त्यस्तो देखिएको छ । अहिले महानगरको नीतिअनुसार त्यो भाडामा लगाएको सटरलाई खालि गर्ने र सामुदायिक विद्यालयमा विद्यार्थीको चाप एकदमै बढ्दो छ ।,’’ शिक्षा अधिकृत ज्ञवालीले भन्नुभयो, ‘‘ती कक्षाकोठामा विद्यार्थी खचाखच भएका छन् । उनीहरूको बसाई र खेल्ने ठाउँ व्यवस्थापनको लागि ३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौँ । सात दिनको म्याद दिएका छौँ सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ । विद्यालयको सम्पत्ति बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो ।’’

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस