आइसीटी अवार्ड–२०२३ मा १४ विधामा पुरस्कार, सातै प्रदेशका स्टार्टअपलाई सम्मान

काठमाडौं । लिभिङ विथ आइसीटीले आइसीटी अवार्ड–२०२३ मा १४ विधामा अवार्ड वितरण गरेको छ भने सातै प्रदेशका स्टार्टअपलाई सम्मान गरेको छ  । 

आठौं संस्करणको आईसीटी अवार्ड समारोह शुक्रबार राजधानीको होटल सोल्टीमा भएको हो । 
एक दर्जन भन्दा बढी प्री–इभेन्ट ५ महिनादेखिको छनोट प्रक्रियामा रहेका र एक महिनासम्म टेलिभिजन कार्यक्रम पश्चात् आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड तथा सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई सम्मान गरिएको छ ।
७०० बढीको अनलाइन आवेदनबाट ५ चरणको छनोटपछि  विजेताहरुलाई अवार्ड प्रदान गरिएको हो । समारोहमा अन्तर्राष्ट्रिय अवार्डका रुपमा आयोजना गरिएको साउथ एसिया स्टार्टअप आइसीटी अवार्ड–२०२३ को पनि विजेता घोषणासँगै पुरस्कृत समेत गरिएको छ । 
प्रविधि क्षेत्रका अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहनको अवसरको रुपमा आयोजना भएको कार्यक्रममा यस क्षेत्रका ८०० बढी विशिष्ट व्यक्तित्वको सहभागिता थियो । समारोहको उद्घाटन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गरेकी थिइन भने अर्थमन्त्री डा.प्रकाशशरण महतले समापन सम्बोधन गरेका थिए । 
इनड्राइभका एसिया प्यासिफिक पीआर प्रमुख पभिट नन्दको पनि कार्यक्रममा उपस्थिति थियो । कार्यक्रममा श्रीलंका, भरत, बङगलादेश, भुटान र बेलायतबाट समेत सहभागीहरु थिए ।
यस वर्षको पायोनियर आइसिटी अवार्ड २०२३ पहिलो इ–कमर्स सञ्चालक बालकृष्ण जोशीले प्राप्त गरेका छन् । एनसेल वुमन आइकन आइवु सिटी अवार्ड सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छन् । 
यसैगरी, प्रोफेसनल एक्सीलेन्स अवार्ड रेनका अध्यक्ष लोचनलाल अमात्य र आइसिटी अवार्ड प्राध्यापक डाक्टर सुरेश मानन्धरले प्राप्त गरेका छन् ।
संस्थागत विधाहरुमा डिजिटल गभर्नेन्स अवार्ड नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेज  अवार्ड तिलगंगा आखा प्रतिष्ठानले प्राप्त गरेको छ । यस्तै, डिजिटल एजुकेसन अवार्ड तनहँुको सत्यदेवी माध्यमिक विद्यालय र डिजिटल एजुकेसन अवार्ड (निजी क्षेत्र) काठमाडौँको अध्ययन स्कुलले प्राप्त गरेको छ । स्टार्टअप र इन्नोभेसनका विधाहरुमा यस वर्ष इन ड्राइभ स्टार्टअप अवार्ड २०२३ यार्सा टेकले
प्राप्त गरेको छ । प्रडक्ट अवार्ड क्युकआर पीए र राइजिङ स्टार इन्नोभेसन ब्ल्यांकसरले जित्न सफल भएको थियो । यस्तै  पब्लिक च्वाइस अवार्ड मनिमित्रले जितेको छ । दक्षिण एसियाली देशहरु लक्षित साउथ एसिया स्टार्टअप अवार्ड भुटानको समूह मिडियाटेकले प्राप्त गरेको छ ।
यसबाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत सम्मान गरेको छ । यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेशबाट एड्स बी मिडिया, वाग्मतीबाट हर्टसन टेक्नोलोजी, गण्डकीबाट रेष्ट्रो एक्स, लुम्बिनीबाट टुना टेक्नोलोजी, कर्णालीबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप सम्मानित भएका छन् । 

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस