पुटीनलाई चुनौती दिने डुन्त्सोभाको उम्मेदवारी नै रद्द

मस्को । रुसमा मार्च हुन लागेको राष्ट्रपति पदको चुनावका लागि उम्मेदवारी दिएकी पूर्व पत्रकार येकातेरिना डुन्त्सोभाको मनोनयन रद्द गरिएको छ ।

पुटीनलाई चुनौती दिने अपेक्षा गरिए पनि उनको मनोनयन नै रद्द गरिएको हो । रुसको निर्वाचन आयोगका अनुसार उनको मनोनयन पत्रमा एक सय भन्दा धेरै गल्ती भएकाले रद्द भएको जनाइएको छ ।

डुन्त्सोभाले उक्त फैसलाविरुद्ध रुसको सर्वोच्च अदालतमा अपिल गर्ने बताएकी छन् । युक्रेनमा रुसको आक्रमणपछिको यो पहिलो चुनाव हो । डुन्त्सोभाले चुनाव जितेमा युक्रेनविरुद्धको लडाई रोक्ने बताउँदै आएकी थिइन् ।

तर, उनको उम्मेदवारी खारेज भएपछि पुटिनका लागि चुनाव थप सहज हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डुन्त्सोभा युक्रेन युद्धको विरुद्धमा छिन् र उनले आफू विजयी भए युक्रेन युद्धको अन्त्य र राजनीतिक बन्दीहरूलाई रिहा गर्ने घोषणा गरेकी थिइन् ।

रुसको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनका लागि अहिलेसम्म २९ जनाले आवेदन दिएको जनाएको छ ।

डुन्त्सोभा पेशाले टिभी पत्रकार हुन् र हाल राजनीतिमा सक्रिय छिन् । साइबेरियामा जन्मेकी डुन्त्सोभा हाल मस्कोको बाहिरी भागमा रहेको टभरमा बस्छिन् । रसियामा चुनावका लागि उम्मेदवारी दिएपछि उम्मेदवारलाई समर्थनमा तीन लाख मानिसको हस्ताक्षर चाहिन्छ । तर डुन्त्सोभाको उम्मेदवारीमा नै सयभन्दा बढी गल्ती भएको दाबी गरिएको छ ।

रुसी सरकारले पुटिनलाई समाजमा जनताको समर्थन रहेको र ओपिनियन पोलमा पुटिनलाई करिब ८० प्रतिशत रेटिङ दिएको बताएको छ । पुटिनका धेरै राजनीतिक प्रतिद्वन्द्वी जेलमा छन् र रुसी मामिलाका विज्ञहरूले अहिले रुसमा पुटिनको शक्तिलाई चुनौती दिन निकै गाह्रो भएको अनुमान गरेका छन् ।

प्रतिकृया दिनुहोस

कमेन्टहरु छैनन् | पहिलो कमेन्ट गर्नु होस् |


कमेन्ट लेख्नुहोस